यू–१९ विश्वकप छनोट : पहिलो खेलमा नेपाल २१७ रनले विजयी

यू–१९ विश्वकप छनोट : पहिलो खेलमा नेपाल २१७ रनले विजयी
तस्विर सौजन्य : icc cricket

 २९ चैत काठमाडौं 
 नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो । २८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ सुरु गरेको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए । उनले शतक बनाउनबाट पाँच रनले चुके । रोहितले १०५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै, नेपालका लागि रसिद खानले ४८ रन बनाए भने पवन सर्राफले ४७ रनको योगदान दिए । कमलसिंह ऐरीले १८ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाए ।

बलिङतर्फ सिंगापुरका अथर्भा गुनले चार विकेट लिएका थिए ।