कप्तान रोहितले सम्हाले नेपालको ब्याटिङ, ओमानलाई २३० रनको चुनौति

कप्तान रोहितले  सम्हाले नेपालको ब्याटिङ, ओमानलाई २३० रनको चुनौति
तस्विर सौजन्य : scroll.in

बैशाख ३, काठमाडौं । 

आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । रोहितलाई भीम सार्कीले ३९ रन बनाउँदै  साथ दिए । रोहितले भिम सार्कीसँग ९३ रनको  साझेदारी गरे । 

खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए । प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए ।

ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए ।

हालसम्म नेपालले दुई खेलमा जीत र एक खेलमा हार बेहोर्दै समूहको दोस्रो स्थानमा रहेको छ ।