आठौं राष्ट्रिय खेलकुदको उद्घाटन आज

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन आज
तस्विर सौजन्य : facebook (rohit dahal)

बैशाख ५, नेपालगंज । 
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ। 

बाँकेको नेपालगन्ज रंगशालामा बिहीबार साँझ प्रतियोगिताको भव्य उद्घाटन गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन्। विष्टले भने, ‘उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ  बिहीबार बेलुका राष्ट्रपतिज्यूबाट उद्घाटन हुनेछ।’

समारोह उपसमितिका सचिव कुलबहादुर थापाले उद्घाटन समारोहमा आधा खेलाडी र आधा स्थानीय विद्यालयका विद्यार्थीलाई सहभागी गराइएको बताएका छन्। कार्यक्रमबारे जानकारी दिदै थापाले भने, ‘विभिन्न साँस्कृतिक तथा स्थानीय पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरिने छ भने खेलाडी गीतमा एकैपटक आठ सय ५० जनाले नृत्य गर्नेछन् ।’  प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि अधिकांश खेलहरु भने चैत २७ गतेदेखि नै सुरु भइसकेका छन्।

उद्घाटनअघि ११ खेल सम्पन्न भइसकेको सदस्यसचिव विष्टले बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। बुधबार मात्र बाँकेको कोहलपुरमा क्रिकेट, खजुरामा फुटबल र भलिबल सुरु भएको छ।

प्रतियोगितामा समावेश ३५ खेलहरु प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा सञ्चालन भइरहेका छन्। भौतिक संरचनाका कारण आठौंअन्तर्गतका केही खेल प्रदेश ५ बाहिरका जिल्लामा पनि सञ्चालन गरिएको छ। 

प्रतियोगिताको समापन भने चैत ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।