मलेसियालाई हराउदै नेपालले जित्यो एसीसी यू–१६ क्रिकेटको उपाधि

मलेसियालाई हराउदै नेपालले जित्यो एसीसी यू–१६ क्रिकेटको उपाधि

बैशाख १५, काठमाडौं । 
डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

थाइल्यान्डमा आइतबार सम्पन्न फाइनल खेलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। मलेसियाका तीन खेलाडीबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । उसका लागि मोहम्मद हजिक ऐमानले १८, वान मोहम्मद अजामले १६ रन र जिनेन्द्र मुरलीले १४ रन बनाएका हुन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रनको योगदान दिए ।