बार्सिलोना र रियलको भिडन्त आज, मैदान छिर्लान त घाइते मेस्सी ?

बार्सिलोना र रियलको भिडन्त आज, मैदान छिर्लान त घाइते मेस्सी  ?
तस्विर सौजन्य : Cyprus Mail

माघ २३ , काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलमा चर्चित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त बुधबार राती हुँदैछ । 

बार्सिलोना र रियलबीचको इएल क्लासिको विश्वकै चर्चित र सबैभन्दा धेरैले हेर्ने फुटबल प्रतियोगिता हो । कोपामा बार्सिलोना र रियलको भेट यसपटक सेमिफाइनलमै भएको छ ।

म्याड्रिडबीचको भिडन्तमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खेल्न सक्ने वा नसक्ने अझै टुंगो लागेको छैन । ला लिगा अन्तर्गत गत बुधबार भ्यालेन्सियाबिरुद्धको खेलमा तिघ्रामा चोट लागेका मेस्सी अभ्यासमा समेत देखिएका छैनन् । उनको बारेमा प्रशिक्षकले अन्तिममा निर्णय गर्ने बताइएको छ ।

मेस्सी खेल्न सकेनन् भने बार्सिलोनालाई दवाव पर्ने देखिन्छ । मेस्सीको अभावमा बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिपे कोउटिन्होको जिम्मेवारी बढी हुनेछ ।

यसैगरी ला लिगाको सुरुवाती खेलमा कमजोर देखिएको रियल अहिले लयमा छ । रियलले बार्सिलोनाविरुद्ध पनि राम्रो लय समात्ने दावी गरेको छ । रियले बार्सिलोनाविरुद्ध रोजाईका खेलाडी करिम बेन्जेमा, ग्यारेथ बेल र भिनिसियस जुनियरलाई उतार्ने तयारी गरेको छ ।