अमेरिकालाई नेपालले दियो १ सय ९१ रनको लक्ष्य

अमेरिकालाई नेपालले  दियो १ सय ९१ रनको लक्ष्य

२५ माघ, काठमाडौं । 
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाललेले अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।

नेपालको लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । विनोदले ७९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए भने कुशलले ४ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाउँदै एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक पुरा गर्ने विश्व किर्तिमान राखे ।

कुशलले १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् । यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।

कमजोर ब्याटिङ शुरुवात गरेको नेपालले ४९ रनमा ५ विकेट गुमाइसकेको थियो । तर, नेपालका लागि एकदिवसिय क्रिकेटमा डेब्यु अवसर पाएका कुसल मल्ल र विनोद भण्डारीको जोडिले उत्कृष्ट ब्याटिङ साझेदारी गरे । भण्डारी र कुशलबीच ८४ रनको साझेदारी पारी खेलेका थिए ।

यस्तै, नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा पारस खड्का १९ रनमा आउट भए । करण केसीले भने १२ रन जोडे ।

अमेरिकाका लागी क्यामरुन स्टेभेनसनले ३ विकेट लिए भने रुस्ती थोरेन र कप्तान सौरभ नेत्राभाल्करले २/२ विकेट लिए ।