विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ, शिर्ष तीनमा उक्लिए

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ, शिर्ष तीनमा उक्लिए

काठमाडौं, ३ माघ ।

विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । 

विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका हुन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । 

दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन् । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए। नेपालका जुनियर खेलाडी दाहालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो । उनको यो सफलता व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि हो । नेपाली ब्याडमिन्टन खेलाडी  विश्व ब्याडमिन्टन महासङ्घको बरियताअनुसार तेस्रो स्थानमा उक्लिएको यो पहिलो घटना हो । 

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले बताउछन् । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध भएका छैनन् । दाहाल आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । 

विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए । दार्चुला सदरमुकाम खलङ्गा स्थायी घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् ।