होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्दै सन्दीप

होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्दै सन्दीप

काठमाडौं, ४ मंसिर ।
नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने खुलाइएको छैन ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थियो । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाइ छ ।

इन्डियन प्रिमियर लिग (आइपीएल) बाट फर्किएका उनी हाल चितवनस्थित घरमा बसेका छन् । यस पटकको आइपीएलमा भने उनले कुनै पनि खेलमा अवसर पाएनन् ।


सन्दीपको अगमनले टिम थप बलियो : प्रशिक्षक

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन् । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनले बताएका छन् । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरेका छन् ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।