अर्जेन्टिनी फुटबलका हस्ती डिएगो म्याराडोनाको निधन

अर्जेन्टिनी फुटबलका हस्ती डिएगो म्याराडोनाको निधन

काठमाडौं, ११ मंसिर ।
महान फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । 

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको ६० वर्षको उमेरमा नेपाली समय अनुसार बुधबार  राती हृदयघातका कारण निधन  भएको हो। 

मस्तिष्कमा रगत जमेर केही साताअघि  शल्यक्रिया गरिएको म्याराडोनाको हृदय घातका कारण आफ्नै घरमा निधन भएको बीबीसीले उल्लेख गरेको छ । 

म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनले सन् १९८६ को फिफा विश्वकप जितेको थियो। अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेलेका म्याराडोनाले ९१ खेलमा ३४ गोल गरेका थिए। 

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। 

सन् २००८ मा उनलाई अर्जेन्टिना फुटबल टिमको प्रशिक्षक नियुक्त गरिएको थियो।