विक्रम लामाको कतारमा सफल शल्यक्रिया, विमल भने समय लाग्ने

विक्रम लामाको  कतारमा सफल शल्यक्रिया, विमल भने समय लाग्ने

काठमाडौँ, २१ माघ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । 

लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि लामाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने एन्फाले जानकारी दिएको छ । 

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । प्रशिक्षणका क्रममा घाइते भएका विमललाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो ।