मेलवर्न स्टार्सविरुद्ध पहिलो खेल खेल्दै सन्दिप

मेलवर्न स्टार्सविरुद्ध  पहिलो खेल खेल्दै सन्दिप

काठमाडौं, १७ पुस । 
नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने  बिगबासमा मेलवर्न स्टार्सविरुद्धको  पहिलो खेल खेल्ने भएका छन् । 

लेग स्पिनर लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका हुन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल  पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्। लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। 

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस सिजनका शुरुवातका ६ खेल गुमाएका थिए । 

नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी सुरुका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए ।

लामिछाने सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ ८ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ । 

लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । लामिछाने तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । 

लामिछानेले यसअघि दुई सिजनको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती दुई सिजनमा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए ।