नेदरल्यान्ड्सलाई १४२ रनले हराउदै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

नेदरल्यान्ड्सलाई १४२ रनले हराउदै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं, ११ वैशाख । 
टी–२० अन्तर्राष्ट्रियमा क्रिकेट इतिहासकै सबैभन्दा ठूलो स्कोर बनाएको नेपालले  बजाज पल्सर त्रिकोणात्मक सिरिजको उपाधि हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रनको विशाल लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमै समेटियो। 

नेदरल्याण्डसविरुद्धको खेलमा कुशल भुर्तेलले ५३ बल खेल्दै ३ छक्का र ४ चौकाको मद्दतमा ७७ रन बनाए। उनी एउटै सिरिजमा चौथो अर्धशतक बनाउने पहिलो खेलाडी बने । कुशल मल्लले ५०, कप्तान ज्ञानेन्द्र मल्लले ३३ तथा आशिफ शेखले १६ रनको योगदान दिए ।  बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले २ तथा सेवास्टियन ब्राटले १ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसको शुरुआतदेखि नै विकेट पतन हुदै गयो। दोस्रो ओभरमै पहिलो विकेट गुमाएको नेदरल्याण्डसले ८ ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्याण्डसका लागि सेवास्टियन ब्राटले सर्वाधिक २६ रनको योगदान दिए। त्यस्तै म्याक्स ओडाउडले  २० रन, कप्तान पिटस शेलारले १३ रन बनाए । 

नेपालका करण केसीले ३, कमलसिंह ऐरी र सन्दीप लामिछानेले २ २ तथा अविनाश बोहराले १ विकेट लिए। एउटै सिरिजमा चौथो अर्धशतक बनाएर उत्कृष्ट खेल प्रदर्शन गरेको कुशल भुर्तेल 'म्यान अफ दि सिरिज' घोषित भए ।