फुटवलका हस्ति म्याराडोना ६० वर्ष पुगे, पेले देखि रोनाल्डोले दिए शुभकामना

फुटवलका हस्ति म्याराडोना ६० वर्ष पुगे, पेले देखि रोनाल्डोले दिए शुभकामना

काठमाडौं, १५ कार्तिक ।

फुटवलप्रति सामान्य रुचि भएका मानिसले समेत चिन्ने हस्तिको नाम जोड्दा डिएगो म्याराडोनालाई छुटाउदैनन् ।  

कूनैबेला विश्व फूटवलमा चर्चाको शिखरमा पुगेका अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई उनकोे ६० औँ जन्मउत्सवमा पेले देखि क्रिस्टियानो रोनाल्डो लगायत विश्व फुटवल जगतले शभकामना दिइरहेका छन् । उनी शनिबार ६० वर्ष पुगेका छन् ।

ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सामाजिक इन्स्टाग्राममा लेखेका छन्, “मेरो महान मित्र, म्याराडोनालाई म सदैव प्रशंसा गर्नेछु । म तपाईंलाई सदैव सहयोग गर्नेछु । तपाईको जीवन यात्रा लामो होस् । तपाई सधैं मुस्कुराउनुहोस् र मलाई पनि मुस्कान दिनुहोस । जन्मदिनको शुभकामना ।”

म्याराडोनालाई १५० भन्दा बढी खेलाडी तथा खेलप्रेमीहरूले अभिवादन गरेको एक भिडियो स्पेनी जनसम्पर्क प्रतिनिधि रिची कास्टेलानोसले बनाएका छन् । एक घण्टाभन्दा बढीको भिडियोमा इटालियाली युभेन्टसका सुप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो समेत रहेका छन् ।

म्यारोडोनाले मेक्सीकोमा भएको सन् १९८६ को विश्वकप फुटबलमा अर्जेन्टिनालाई विजयी बनाउँदै आफूलाई विश्वकै प्रसिद्ध खेलाडीको सूचीमा स्थापित गर्न सफल भएका थिए ।

यसैबीच म्याराडोनाले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार एक नयाँ परोपकारी कार्यक्रम “लास १० डेल १०” को सुरुवात समेत गरेका छन् । कार्यक्रमले अर्जेन्टिनाका गरीब समुदायलाई खाद्यान्न, तथा स्वास्थ्य सामग्रीलगायतका सामान प्रदान गरिने बताइएको छ ।