आरोपले म थाके : मेसी

आरोपले म थाके : मेसी

ऐजेन्सी, ५ मंसिर । 
लियोनल मेसीले बार्सिलोनाका प्रत्येक समस्यामा आफूलाई नै दोषी देखाइने भन्दै त्यसबाट आफू थाकेको बताएका छन् । 

एन्टोन ग्रिजमनका पूर्वएजेन्टले मेसीकै कारण फ्रान्सेली स्ट्राइकरले बार्सिलोनाका लागि ला लिगामा राम्रो खेल्न नसकेको आरोप लगाएका थिए ।

एरिक ओल्ह्याट्सले मेसीले बार्सिलोनामा चाहिने भन्दा बढी नियन्त्रण गरेको बताएका थिए । उनले मेसीको यो ‘आतंक’ कै कारण ग्रिजमनले गत वर्ष क्लबका आएयता सोचेजस्तो प्रदर्शन गर्न नसकेको आरोप लगाएका थिए । विश्वकप छनोटमा अर्जेन्टिनाका लागि खेलेयता मेसी बार्सिलोना आइपुगेका हुन् । विमानस्थलबाट बाहिर पुगेलगत्तै उनलाई स्पेनी मिडियाले घेरेका थिए। त्यसै क्रममा उनले भने, ‘सत्य बोल्ने हो भने म थाकिसकें, किनभने बार्सिलोनाका प्रत्येक असफलतामा मेरै कारण देखाइन्छ ।’

मेसीले थप भने, ‘अहिले म १५ घण्टा उडानमा बिताएर थाकेर आइरहेको छु, स्पेनी कर अधिकृतहरू पनि मलाई नै पर्खिरहेका छन्, यो त पागलपनको हद नै हो ।’ बार्सिलोनासँग अनुबन्धको एक वर्ष बाँकी छँदा मेसीले विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न खोजेका थिए तर त्यसमा सफल भएनन् । आफ्नो क्लबविरुद्ध कानुनी लडाइँ लड्न उनी अनिच्छुक रहेका थिए ।

युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखबाट ८–२ ले पराजित भएयता बार्सिलोना एकपछि अर्को समस्याबाट गुज्रिरहेको छ । गत महिना मात्र अविश्वासको प्रस्ताव सामना गर्नुअगाडि नै क्लब अध्यक्ष जोसेप मारिया बारटोमेउले राजीनामा दिएका थिए । पछिल्लो समय मेसी आफैं स्पेनी कर अधिकृतहरूको लगातार सोधपुछमा फसेका छन् ।

सन् २०१६ मा मेसीलाई २१ महिनाको जेल सजाय सुनाइएको थियो । यस क्रममा उनलाई २० लाख युरो जरिवाना पनि तिराइएको थियो । उनीमाथि छवि अधिकारबाट कमाएको ४२ लाख युरो स्पेनी सरकार सक्षम लुकाएको अरोप लगाइएको थियो । मेसीले २ लाख ५० हजार युरो तिरेपछि उनलाई जेल भने जान परेन । स्पेनी कानुनमा कुनै पूर्व दोष नभए दुई वर्षसम्मको जेल सजाय बाहिर निगरानीमा बिताउन पाउने नियम छ ।