पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन

पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन

काठमाडौं, २७ पुस ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । 

सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोल रक्षकको भूमिका निभाएका पूर्व गोलरक्षक शाहीको ६५ वर्षको उमेरमा आइतबार राति दैलेखमा निधन भएको हो । 

लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । पूर्व गोलरक्षक शाहीको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा शाही टोलीका महत्वपूर्ण खेलाडी थिए । शाहीले ४ पटक साफ खेलकुदमा सहभागिता जनाएका छन् । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि शाही गोल रक्षकको भूमिकामा थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन् । 

शाही २०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा महासचिवमा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहेका थियो । २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घका संस्थापक अध्यक्षमा चयन भएका थिए।