एफसी चितवनको मुख्य प्रशिक्षक मेघराज के.सी., मार्की प्लेयर भरत खवास

एफसी चितवनको मुख्य प्रशिक्षक मेघराज के.सी.,  मार्की प्लेयर भरत खवास

काठमाडौं, ४ चैत ।  
नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) अर्को महिनाबाट शुरू हुँदै छ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक तथा रोमाञ्चक हुने देखिएको छ ।

आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लि. ले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ । आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रमकाबीच उक्त कुरा सार्वजनिक गरिएको हो । कार्यक्रममा सो सम्बन्धित सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।

सम्झौता पत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लि. का प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर(टिमको प्रतिकको रुपमा रहने खेलाडी)  राष्ट्रिय टिमका स्टाइकर भरत खवासले हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफुले एफसी चितवन टीमको नेतृत्व लिएको उल्लेख गर्दै टिममले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने बताए ।

हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के.सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।