बङ्गलादेशलाई हराउदै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

बङ्गलादेशलाई हराउदै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौं, १६ चैत । 
त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा सन्जोग राई र विशाल राईले गरेका हुन्।  

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार हात पार्याे भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त गर्याे।  

नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरे । सन्जोगले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल भए । यस्तै खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे ।  

खेलको १३औँ मिनेटमा नेपाल गोल गर्नबाट चुक्यो । खेलको १६औँ मिनेटमा बङ्गलादेशी खेलाडीले रोहित चन्दलाई मैदानमा लडाएपछि नेपालले फ्रि किकको मौका पाएको थियो । अनन्त तामाङले हानेको बल गोलपोष्ट बाहिर पुग्यो । यस्तै खेलको २५औँ मिनेटमा नेपालले फ्रि किकको अवसर पाएको थियो । 

खेलको २८औँ मिनेटमा बङ्गलादेशले गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे । खेलको ३०औँ मिनेटमा अन्जन विष्टले गोल गर्ने उत्कृष्ट मौका गुमाए भने ३१औँ मिनेटमा विशाल राई गोल गर्नबाट चुके। 

नेपालले पहिलो हाफमा जस्तो आक्रामक खेल दोस्रो हाफमा खेल्न सकेन । फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो । बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल फर्काए। 

नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । आजको खेलबाट यसअघि नै  सन्यास लिने घोषणा गरेका महर्जनको दशरथ रङ्गशालामा भव्य रुपमा बिदाइ गरिएको छ । ७३ वटा अन्तर्राष्ट्रिय खेल खेलेका महर्जन नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुन् ।