अस्ताए भलिबलका वरिष्ठ प्रशिक्षक रिमालको

अस्ताए भलिबलका वरिष्ठ प्रशिक्षक रिमालको

११ पुस, काठमाडौं ।
वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ ।

नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उहाँको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक हुन् । उाी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक थिए । पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए ।

रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेको नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउछन् । “रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ”, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने । प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उनको बुझाइ छ ।

भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट प्रशिक्षक रिमाललाई नेपालको भलिबलमा अहोरात्र खटिने व्यक्तिका रुपमा लिन्छन् । “नेपालको भलिबललाई अहिलेको अवस्थासम्म ल्याई पु¥याउन प्रशिक्षक रिमालको महत्वपूर्ण योगदान रहेको छ,” उनले रिमाललाई स्मरण गर्दै भने । राज्यले न्यून लगानी गरेको भलिबललाई उकास्न प्रशिक्षक रिमालले गरेको योगदानको भलिबल प्रशिक्षक, पदाधिकारी र खेलाडीले सदैव स्मरण गरिरहने प्रशिक्षक भट्ट बताउछन् ।

पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए।

प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकूदमा रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।