नेपाल टेलिकमको ‘एनटी टिभी’ सेवा शुरु

नेपाल टेलिकमको  ‘एनटी टिभी’ सेवा शुरु

काठमाडौं, १७ पुस । 
नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो । 

एनटी टिभी सेवाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुरुआत गरे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटिटिएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो । 

टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टिभी सेवा सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपूर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैबु, ग्वार्कोलगायतस्थानमा फाइबर सेवा पुगिसकेको छ । अब छिट्टै उपत्यका बाहिर पनि एनटी टिभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।  
 
टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । “फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ”, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, “टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ ।”

हालसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टिभी सेवा मात्र दिँदै आएका छन् । प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताउछन् । 
 
निजी क्षेत्रको भन्दा सहुलियत मूल्य

कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिङ्गल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट ९बेसिक टिभी प्याकेज० को मूल्य १ हजार २३० देखि  १३ हजार २२० सम्म तोकेको छ । १ महिनाका लागि १ हजार २२०, ३ महिनाको ३ हजार ५३० र १ वर्षको  १३ हजार २२० रहेको टेलिकमले जनाएको छ ।