क्यान इन्फोटेक बैशाख २८ गतेदेखि

क्यान इन्फोटेक बैशाख २८ गतेदेखि

काठमाडौं, २ चैत । 
सुचना प्रविधिको क्षेत्रमा नेपालको सबैभन्दा ठूलो मेला ‘क्यान इन्फोटेक २०२१’ आगामी बैशाख २८ गतेदेखि हुने भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २७ औँ क्यान इन्फोटेक मेला आगामी वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने जानकारी दिएको हो ।

क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ सामग्री प्रदर्शनी तथा जानकारी दिइन्छ । सूचना तथा प्रविधिको कुम्ध मेलाको रुपमा चिनिएको इन्फोटेकमा नयाँ प्रविधिहरु खरिद, अवलोकन तथा जानकारी लिन तीन देखि चार लाख मानिसहरु क्यान इन्फोटेक मेलामा आउने गरेका छन् ।

सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् ।

क्यान इन्फोटेक २०२१ मा ब्राडिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स इमर्जिङ्ग टेक्नोलोजि, इवेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्बन्धि रोजगार केन्द्र मुख्य हुने विभिन्न खण्डहरू रहने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोलुशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोलुशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा बिक्रीमा रहेने छन् । 

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्टवेर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

यस पटकको इन्फोटेकमा प्रवेश टिकट लाई पेपरलेस हुनुका साथै सर्वसाधारणको लागी प्रवेश शुल्क १०० रुपैया र विद्यार्थीका लागि ५० रुपैया लाग्ने आयोजकले बताएको छ ।