सञ्चालनमा आयो विश्वकै अग्लो बन्जी

सञ्चालनमा आयो विश्वकै अग्लो बन्जी

पर्वत, १८ कार्तिक ।
पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको आधा किलोमिटर लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ९पिङ० व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एकमात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यावसायिक रुपमा सञ्चालन आएका हुन् । झण्डै रु २८ करोडको लगानीमा साहसिक खेलका परियोजना तयार भएका कम्पनीले बताएको छ ।

प्रालिले गत सोमबारदेखि औपचारिक रुपमा सबै साहसिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएपछि दैनिक सयौँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको कम्पनीले जनाएको छ ।

कालीगण्डकीको गहिरो खोँचमा ५२५ मिटर लामो लट्ठामा झुण्डिएको आकर्षक पुल २०७३ सालदेखि निर्माण थालिएको थियो । पुल, बन्जी, स्काई साइक्लिङसँगै रिसोर्टको निर्माण कार्य २०७६ अन्तिममा सकिए पनि विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासका कारण गरिएको लकडाउनले गर्दा सञ्चालनमा आउन सकेका थिएनन् ।

“हामीले नयाँ वर्षमा नै सबै साहसिक पर्यटकीय गन्तव्य पर्यटकका लागि खुल्ला गर्ने सोचमा थियौँ”, कम्पनीका अध्यक्ष राजु कार्कीले भने, “लकडाउनले रोकिए पनि अहिले सबै स्वास्थ्य मापदण्ड पूरा गरेर सेवा शुरु गरेका हौँ ।”

पाँच सय २५ मिटर लामो झोलुङ्गेपुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २२८ मिटर अर्थात् ७४८ फिट छ । यसभन्दा पहिले विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोस्रो अग्लो स्विट्जरल्यान्डको भरजस्का बाँधमाथि ७२० फिट उचाइमा छ ।

द क्लिफ प्रालिको यो परियोजनापछि स्विट्जरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो र पुलमा बनेको विश्वकै अग्लो बन्जीका रुपमा स्थापित भएको अध्यक्ष कार्कीको दाबी रहेको छ । बन्जी र स्विङ दुवैको मूल्य रु सात हजार तोकिएको छ । जोडी स्विङको रु १२ हजार मूल्य निर्धारण गरिएको अध्यक्ष कार्कीले बताए।

यसैगरी, स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको हो । विश्वकै सबैभन्दा ऊचाइमा सञ्चालित कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो छ भने लम्बाइ ३०० मिटर छ ।