आधुनिक टेक्नोलोजीले भ्रष्टचार नियन्त्रण गर्न सक्छ : डा. सिग्देल

आधुनिक टेक्नोलोजीले भ्रष्टचार नियन्त्रण गर्न सक्छ : डा. सिग्देल

आधुनिक टेक्नोलोजीले भ्रष्टचार नियन्त्रण गर्न सक्छ : डा. सिग्देल

- अनिल सापकोटा

अमेरिकाको युनीभर्सिटी अफ क्यालिफोर्निया लस एनजेलेसमा कार्यरत डा. दिवाकर सिग्देलले न्युक्लीयर फिजिक्समा पि. एच. डि. हासिल गर्नुभएको छ । आधुनिक  टेक्नोलोजी, मसिन लर्निङ्ग, डाटा, राजनीति, तथा विभिन्न बिषयका  बारेमा विशेष  रुचि राख्ने डा. सिग्देलको बाल्यकाल बर्दिया जिल्लाको राजापुरमा बित्यो । बाल्यअवस्थादेखी नै विज्ञानमा औधी रुचि राख्ने उहाँ माध्यमिक शिक्षा पछि विज्ञानलाई पछ्याउदै नेपालगञ्जबाट आइ. एस्सी. को पढाइ  सक्नुभयो । उच्च शिक्षा कुन विषयमा गर्ने भन्ने दोधारमा पर्नुभएका डाक्टर सिग्देल पारिवारिक हौसलापछि घरबाट इन्जिनियरिङ्ग अध्ययनका लागि भनेर राजधानी पस्नुभयो । तयारीका साथ इन्ट्रान्स दिएर पुल्चोकमा नाम पनि निकाल्नुभयो तर कक्षा शुरु हुनैलाग्दा मेरो रुचि इन्जिनियरिङ्ग नभएर फिजिक्स पो हो कि भनेर मनमा चस्को पर्न थाल्यो । अन्तत: पुल्चोकमा नाम निस्किएको इन्जिनियरिङ्ग हापेर बि. एस. सी. अध्ययन थाल्नुभयो । बि. एस. सी. अध्ययनपछि पनि फिजिक्सको चुम्बकले तान्दै गयो । फिजिक्समा एम. एस. सि. अध्ययन सकेपछि फिजिक्सकै गहिराई खोज्दै सन् २०११  मा अमेरिका पुग्नुभयो ।

 

  1. तपाई अमेरिका आइसकेपछि अमेरिकाको शैक्षिक प्रणाली र नेपालको शैक्षिक प्रणालीबिच कस्तो भिन्नता पाउनुभयो ?

कोर्ष कन्टेन्टमा त्यति फरक पाइन् । हामीले नेपालमा जे पढ्छौ त्यस्तै कुराहरु  यहाँ पनि पढियो तर त्यो शिक्षा ग्रहण गर्ने शैली, बुझ्ने तरिकामा चाहि ठूलो अन्तर छ । त्यहि सिद्धान्त नेपालमा हामी घोकेर बुझ्छौ भने यहाँ प्रयोगात्मक परिक्षण गरेर बुझाइन्छ  र बुझिन्छ ।

२. तपाईको अर्थमा मसिन लर्निङ्ग के हो ?

साधारण अर्थमा मेसिनलाई आवश्यक कुराहरु  सिकाएर पोख्त बनाउने ताकी भोलीका दिनमा मसिनले पनि मानिसले जस्तै काम गर्न सकोस, त्यो नै मसिन लर्निङ्ग हो । उदाहरणका लागि एउटा बच्चाले कसरी सिक्छ, त्यसरी नै मसिनलाई सिकाउने ।  बच्चा हुर्किदै जादा आखाँ तथा कानले सुचना ग्रहण गर्छ, जीव बिज्ञानका हिसाबले भन्दा उसले त्यहा मष्तिष्कको प्रयोग गरी सिकिरहेको हुन्छ । जस्तै बलिरहेको आगो छुन-चलाउन मन लाग्छ तर आँगोले पोलीसकेपछि उसमा चेतनाको विकास हुन्छ । उसले त्यहानिर सिक्यो नि । हो, त्यसैगरी मेसिनलाई पनि निकै धेरै डाटाहरु  सिकाउने । यस्तो हुँदा यसरी गर्ने, कहाँ के गर्ने र के नगर्ने भनेर हजारौ लाखौँपटक सिकाइसकेपछि उसले ती सबै कुराहरुलाई गणितीय तरिकाबाट एउटा मोडेल तयार पार्छ । यसरी मसिनले सिकेका सबै कुराहरुको एउटा बहुआयामिक म्याट्रिक्स तयार गर्छ । त्यसपछि उसले आफ्ना अनुभवका आधारमा यस्तो हुँदा के गर्ने के नगर्ने भन्ने फरकफरक क्याटोगोरी बनाएर आफै सेभ गर्न थाल्छ अर्थात सिकाइबमोजिम उसले काम गर्न थाल्छ ।

३. नेपालमा मसिनहरुको सिकाइ र यसको  प्रयोग खासै भएको पाइदैन, यसको  कारण  के होला ?

सरकारी तहबाट मसिन लर्निङ्गलाई केही  प्राथमिकतामा राखेपनि यसको प्रयोग गर्न नसकेको अवस्थामा केही हदसम्म ज्ञान भएका ब्याक्ति पनि जागिरको खोजीमा  विदेश जानुपर्ने अवस्था  छ । निजी तर्फका ब्यवसायीहरुले बिदेशबाट मगाएर यसको प्रयोग गर्दा तत्कालका लागी खर्च बढि र आम्दानी कम देखेर पनि होला । नेपालमा निजी स्तरबाट क्लाउड कम्प्युटिङलाई महत्व दिएर होस्टिङ गर्ने सुरुवात अझ नभइसकेको हुनाले मसिन लर्निङ्ग र यसको प्रयोग खासै भएको पाइदैन् । अब सरकारी स्तरबाट नै मसिन लर्निङ्ग र यसको प्रयाग बढाउनका लागी योजनाबद्ध नितीहरु  प्राथमिकतामा राखी कदम चाल्नुपर्छ ।

४. आधुनिक टेक्नोलोजीको प्रयोगले भ्रष्टचार नियन्त्रण गर्न सक्छ ?

हो, हामी जती-जती नयाँ टेक्नोलोजीको प्रयोग गर्दै जान्छौँ त्यसले भ्रष्टचारलाई चिर्दै जान्छ । हरेक कुराहरु  अझ पारदर्शी बनाउँछ । अब नयाँ जनशक्तिले अझ टेक्नोलोजीको प्रयोग बढाउनु पर्छ । सरकारले पनि यस्ता योजना अघि सार्नुपर्छ ताकि भोलीका दिनमा आवश्यक पर्दा जुनसुकै डाटा सरकारले पाउँन सकोस । यसको एउटा बलियो मेरुदण्ड तयार पर्यो  भने सरकारले हरेक कारोबारको डाटा लिन सक्छ । साधरण जीविकोपार्जन गर्ने मानिसदेखी भ्रष्टचारको आहालमा डुबेका कर्मचारी, नेताको पनि कारोबार र सम्पति बिवरण डाटामा राखेर एउटा बिशाल डाटावेस तयार पार्न सकिन्छ, जसमा  कुनै एउटा ब्याक्ति वा संस्था ग्राफको नोड भएर बस्छ । एक लाइन कोडको सहायताले आवश्यक व्यक्ति  सँग सम्बन्धीत सबै जानकारी एकै फाइलमा निकाल्न सकिन्छ । डाटामा इन्ट्री गरेको दिनदेखी आजसम्म गरेको आम्दानी र खर्च कुन किसिमले गरेको छ । सबै कुराहरु पद्धतीबाट डाटा निकाल्न सकिन्छ । यसरी हाम्रो सिस्टमलाई डाटावेसतर्फ धकेल्दा पारदर्शीता बढ्दै जान्छ । जसले भ्रष्टचार निरन्तर घटाउदै लैजान्छ ।

५. यसरी डाटावेसमा सबै तथ्याङ्कहरु  राख्दा यसमा केही चुनौतीहरु पनि होलान नि, त्यसबारे प्रष्ट पारिदिनुस् न ?

हजुर,  पहिले त डाटावेसको फ्रेम ल्याउन हामीले नयाँ टेक्नोलोजीको प्रयोग निरन्तर बढाउनुपर्छ । अब यसरी डाटावेसमा तथ्याङ्क राख्दा विधी र प्रक्रिया मिलेन भने यसले उल्टो नतिजा ल्याईदिन पनि सक्छ । कसैले ह्याक गरेर डाटाहरु  तलमाथी पारिदिन सक्छन् । कसरी सुरक्षित बनाउने भन्ने चुनाती त छदैछ तर सरकारले साच्चै प्राथमिकतामा राखेर काम गर्ने हो भने त्यस्ता चुनौतीबाट बच्न सकिन्छ ।

६. अहिलेको युवापिढीले क्लाउड कम्प्युटिङ सिक्नको लागी गाईडलाइन के के हुन सक्छ ?

अहिलेका युवापिढी कुनै पनि कुरामा अलिकति बढि रिर्सच गर्ने बानी बसाल्नु पर्छ । कूनै पनि कुरा जिज्ञासु भएर खोज्नुपर्छ त्यसका लागि स्रोत पनि अहिले त प्रशस्त छन् । बिद्यार्थी आफै खोज्नु त छदैछ अझ कलेज युनिभर्सिटीहरुले पनि इन्टरनेटमा खोजेर दिन अथवा सजिलो तरिकाले खोज्न गाइड गरिदिने हो भने अझै गहन अध्ययन हुन्थ्यो । स्कुल तहकै क्लास प्रोजेक्टबाट रिसर्च गर्ने बानी बसाल्न सक्यौ भने उत्तम हुन्छ । खोजीसकेका कुरालाई, कहाबाट खोजीयो त्यो कुराहरु पनि किनारमा रिफरेन्सको रुपमा  लेखेर राख्ने बानी बसाल्यौ भने सिकाई अझ प्रभावकारी हुन्छ ।

 

(अमेरिकाको युनीभर्सिटी अफ क्यालिफोर्निया लस एनजेलेसमा डा. सिग्देलसंग कृष्ण ज्ञवालीले गर्नुभएको कुराकानीमा आधारित साराशं। पुरा भिडियो हेर्न  यहाँ थिच्नुहोस । )