शिशु च्यापेकी महिलामाथि लाठी बर्साउने इन्स्पेक्टरमाथी छानबिन

शिशु च्यापेकी महिलामाथि लाठी बर्साउने इन्स्पेक्टरमाथी छानबिन

१७ फागुन, काठमाडौं । 
महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्जसमेत रहेका इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा शिशु च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार लाठी बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भिडियो बाहिरिएलगत्तै प्रहरी प्रधान कार्यालयलाई फेसबुक र ट्वीटरमा ‘मेन्सन’ गर्दै व्यापक रूपमा पोस्ट भएपछि आफूहरूले यसलाई गम्भीर रूपमा लिएको बताए । ललितपुर प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईका अनुसार घटनाबारे बुझ्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । 

डीआईजी थापाका अनुसार प्रहरीलाई तालिमका क्रममा बल न्यूनतम प्रयोग गर्नु भनेर सिकाइएको हुन्छ । उनले भने, ‘सकेसम्म कुटपिट नगरीकन पक्राउ गर्ने वा भीड नियन्त्रण गर्ने हो । बल प्रयोग गरियो भने पनि त्यो जस्टीफाई हुनुपर्छ ।’ उनले बिहीबारको घटनाले प्रहरीको साखमा प्रश्न उठेको जनाउँदै यस्तो विषयमा आफूहरू झनै गम्भीर हुनुपर्ने बताए ।

प्रहरी प्रधान कार्यालयले नै घटनाबारे चासो राखेपछि प्रहरी परिसर ललितपुरका एसएसपी राईले इन्स्पेक्टर पौडेललाई बोलाएर घटनाबारे सोधपुछ गरेका थिए ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रहरीले महिलालाई निर्घात कुटेको भिडियोबारे सामाजिक सन्जाल ट्वीटरमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मान्छे बर्दी लगाउँदैमा यति अमानवीय कसरी बन्न सक्छ । आमाले गल्ती गरिहोलिन् । तर त्यो अबोध शिशुको के गल्ती थियो रु शिशु आमाको हातबाट खसेर टाउकोमा चोट लागेको भए रु गिरफ्तार गर्नैपरे समातेर भ्यानमा हाल्न सकिन्थ्यो । ओलीराजमा सबै छोटे राजा ?’