वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ : पूर्वराष्ट्रपति यादव

वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ : पूर्वराष्ट्रपति यादव

१५ माघ, तनहुँ ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले विकासको नाममा प्रकृति दोहन भएको देख्दा दुःख लागेको बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित ढोरबाराही मन्दिरमा बुधवार पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उनले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकोमा दुःख व्यक्त गरे । विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने,‘वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ। पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ ।’

प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा. यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनले बताए। वनजङ्गल नेपालको सम्पत्ति भएकाले उनले वनजङ्गल जोगाउन सरकारलाई आग्रहसमेत गरे ।

आफैँ लहरी छुट्ने ढोरबाराही मन्दिर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइरहेको छ । पूर्वराष्ट्रपति डा.यादवको भ्रमणले मन्दिरको प्रचारप्रसारमा सहयोग पुग्ने वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले बताए। मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ ढोरबाराही मन्दिरको दर्शनका लागि तनहुँका साथै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवनलगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा अवस्थित मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर शिला छन् ।