स्याटेलाइट र सेक्युरिटी प्रेस खरिद अब प्रतिस्पर्धामार्फत : अर्थमन्त्री खतिवडा

स्याटेलाइट र सेक्युरिटी प्रेस खरिद अब प्रतिस्पर्धामार्फत : अर्थमन्त्री खतिवडा

२२ फागुन, काठमाडौं ।
बिनाप्रतिस्पर्धा जी टु जी मार्फत सरकारले खरिद गर्ने तयारी गरेको सेक्युरिटी प्रेस र स्याटेलाइटजस्ता महँगा परियोजना अब प्रतिस्पर्धामार्फत अघि बढ्ने भएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री युवराज खतिवडाले प्रतिस्पर्धामार्फत स्याटेलाइट र सेक्युरिटी प्रेस खरिद प्रकृया अगाडी बढ्ने बताए। 

‘पूर्वाधार निर्माण सम्बन्धी जति पनि खरिद छन्, ती सबै पूर्ण प्रतिस्पर्धाको आधारबाट पारदर्शी ढंगले हुन्छ,’ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री खतिवडाले भने, ‘चाहे त्यो सेक्युरिटी प्रेस होस् वा स्याटेलाइट ।’

 ‘स्पष्ट विधि अपनाएर प्रतिस्पर्धी र पारदर्शी ढंगले पूर्वाधार निर्माणको कामलाई अघि बढायौं भने त्यो सबैलाई स्वीकार्य हुन्छ र हामी पनि विवादरहित हुन्छौं,’ उनले भने । उक्त मन्त्रालयले जी टुजी मार्फत खरिद गर्ने गरी अघि बढाएको सेक्युरिटी प्रेस र स्याटेलाइट राख्ने परियोजना विवादित छ ।

सेक्युरिटी प्रेस खरिदको प्रक्रियामा तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले घूस बार्गेनिङ गरेको अडियो सार्वजनिक भइसकेपछि उनले पदबाट राजीनामा दिएका थिए । बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडाले सम्हालेका हुन् । राष्ट्रिय सभामा म्याद सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका खतिवडा बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदमा नियुक्त भएका छन् ।