विश्व बैंकले कोरोना जोखिमयुक्त देशलाई १३ अर्ब सहयोग गर्ने

विश्व बैंकले कोरोना जोखिमयुक्त देशलाई १३ अर्ब सहयोग गर्ने

२२ फागुन, काठमाडौं । 
विश्व बैंक समूहले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिममा रहेका मुलुकहरूलाई करिब १३ अर्ब रुपैयाँ सहयोग गर्ने जनाएको छ । 

विश्व बैंक समूहले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उक्त रकम ती मुलुकहरूको स्वास्थ्य र आर्थिक क्षेत्रमा खर्च गरिनेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वका ६० भन्दा बढी मुलुक कोरोना भाइरस संक्रमणको जोखिममा छन् । विकासोन्मुख मुलुकहरूको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन उक्त सहयोग गरिएको हो । विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरसबाट बच्न विकासोन्मुख मुलुकहरूलाई छिटो र सहज रूपमा सहयोग गर्न चाहेको बताएका छन् ।

‘यो सहयोगमार्फत आपतकालीन आर्थिक सहयोग, नीति सल्लाह, प्राविधिक सहयोग तथा संकटबाट बच्न विज्ञका रूपमा सल्लाह पनि दिने हो,’ उनले भने । विश्व बैंक समूहको उक्त सहयोग प्राप्त गर्ने मुलुकमा नेपाल पनि पर्छ । नेपाललाई यसअघि नै कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुकका रूपमा उल्लेख गरिएको छ ।

यसअघि अमेरिकी सरकारले कोभिड–१९ को जोखिममा रहेका नेपालसहित विश्वका २५ देशहरूमा भाइरसबाट बच्न पूर्वतयारी र रोकथामका लागि करिब ३ करोड ७० लाख अमेरिकी डलर दिने वाचा गरेको थियो ।