काठमाडौं, ११ साउन।
सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्।
उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। सिरहाबाट सुरु गरिएको यो यात्रामा भक्तजनहरूले शारीरिक थकान, मौसमको कठोरता र बाटोको कठिनाइलाई शिवभक्तिमा विलीन गर्दै सहज रूपमा स्वीकारे। आठ दिनसम्मको लामो यात्रा उनीहरूको श्रद्धा, साहस र समर्पणको ज्वलन्त प्रमाण बन्यो।
उनीहरूको यस कठिन यात्रालाई राधे राधेमा समाजसेवी इन्जिनियर तेजनारायण यादव, जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण यादव लगायत अन्य युवाहरूले हर हर महादेव नारा लगाउँदै आत्मीय स्वागत गरेका थिए। स्वागत समारोहमा इन्जिनियर तेजनारायण यादवले ती श्रद्धालुहरूको गहिरो भक्तिभाव, अदम्य धैर्य र समाजमा धार्मिक चेतना फैलाउने योगदानको खुलेर प्रशंसा गरे।
भोलि सोमबार बिहान ती श्रद्धालुहरूले पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्दै आफ्नो धार्मिक यात्रा औपचारिक रूपमा सम्पन्न गर्ने कार्यक्रम रहेको छ।
यी श्रद्धालुहरूको समर्पणले न केवल व्यक्तिगत आस्था र धर्मप्रति गहिरो निष्ठा प्रकट गरेको छ, तर समग्र समाजमा धार्मिक चेतना, सांस्कृतिक मूल्य र परम्पराको संरक्षणप्रति गहिरो सन्देश पनि दिएको छ। विशेषगरी युवापुस्तालाई प्रेरणा दिने खालको यस यात्राले अनुशासन, आस्था र समर्पणको नयाँ परिभाषा प्रस्तुत गरेको छ।
