अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन

अन्य सबै समाचार

सिराहा, साउन १६।
सिराहा प्रादेशिक अस्पतालले रेडक्रस सोसाइटीसँग ब्लड बैंक सञ्चालन गर्ने भन्दै एक वर्षअघि जिम्मा लिएको भवन अझैसम्म प्रयोगविहीन अवस्थामा छ। न त भवनको मर्मत गरिएको छ, न त ब्लड बैंक नै सञ्चालनमा आएको छ। जीर्ण भवन र प्रशासनको उदासीनताले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ।

अस्पतालका अध्यक्ष शोहिन्द्र यादवले सार्वजनिक रूपमा छिट्टै ब्लड बैंक सञ्चालन हुने बताउँदै प्रतिवद्धता जनाएका थिए। प्रशासन, जनप्रतिनिधि, सामाजिक अभियन्ता र सर्वसाधारणसमक्ष उनले बारम्बार यस्तो घोषणा गरेका थिए। तर एक वर्ष बितिसक्दा पनि न त बैंक खोलिएको छ, न त त्यसतर्फ कुनै उल्लेखनीय पहल गरिएको देखिन्छ।

सिराहा प्रादेशिक अस्पतालका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताएअनुसार, अध्यक्ष यादवले अस्पतालको साधन-स्रोतको दुरुपयोग गर्दै आएका छन्। उनले एम्बुलेन्स तथा मेडिकल सुपरिन्टेन्डेन्टका लागि तोकिएको सरकारी गाडीलाई कहिले सुखीपुरस्थित आफ्नै घर जान प्रयोग गर्छन्, त कहिले आफ्ना व्यक्तिगत कार्यमा। यस्तो गैरजिम्मेवार व्यवहारले अस्पतालको सेवा प्रणालीमा समेत असर पुर्‍याइरहेको आरोप लाग्दै आएको छ।

स्थानीय सामाजिक अभियन्ता तथा युवाहरूले अध्यक्ष यादवको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। “हामीले उनलाई विश्वास गर्‍यौं, तर आजसम्म काम शून्य छ,” स्थानीय युवा सुमित यादवले भूमि पोस्टसँग भने, “सिराहामा रगत अभावकै कारण मानिसहरूले ज्यान गुमाइरहेका छन्।”

सिराहा जिल्लामा दैनिकजसो हुने सवारी दुर्घटना, आपतकालीन प्रसूति सेवा र अन्य स्वास्थ्य समस्याहरूमा रगतको आवश्यकता अत्यधिक हुन्छ। तर ब्लड बैंकको अभावमा बिरामीहरूलाई लहान, जनकपुर वा विराटनगरसम्म रगतका लागि जानुपर्ने बाध्यता छ। यसबीचमा समयमै रगत नपाएर ज्यान गुमाउने घटनाहरू भइरहेका छन्।

रेडक्रसले जिम्मा दिएको भवन अहिले पूर्ण रूपमा जीर्ण अवस्थामा छ। भित्र आवश्यक उपकरणहरू छैनन्, बाहिर रंगरोगन समेत छैन। अस्पताल प्रशासनले अहिलेसम्म मर्मत वा सञ्चालनको लागि कुनै ठोस पहल गरेको देखिँदैन।

स्थानीय बासिन्दा जितेश कर्ण भन्छन्, “जनताले नेताको भाषण होइन, सेवा खोजिरहेका छन्। ब्लड बैंक खोल्न नसक्ने हो भने जिम्मा किन लिएको? यो जनताको स्वास्थ्यसँग सरासर खेलबाड हो।”

त्यसैगरी, युवा नेता अरविन्द यादवले भने, “सरकार, प्रदेश स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायहरूले यस विषयमा तात्कालिक हस्तक्षेप नगरे सिराहाका जनताले अझ ठूलो मूल्य चुकाउनु पर्ने निश्चित छ।” उनी भन्छन्, अब अस्पताल प्रशासनले उत्तरदायित्व लिनु पर्ने समय आएको छ, नत्र जनदबाब अपरिहार्य हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *