काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार (असोज २) कूटनीतिक भेटवार्तामा व्यस्त भइन् । उनले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरिन् ।
नेपालका लागि चिनियाँ र अमेरिकी राजदूतले उनीसँग शिष्टाचार भेटवार्ता गरे । भारत र चीन छिमेकी राष्ट्र हुन् भने अमेरिका दुरीका हिसाबले केही टाढा भए पनि सम्बन्धमा भारत र चीनभन्दा पर छैन ।
तीन शक्ति राष्ट्र भारत, चीन र अमेरिकाले बिहीबार प्रधानमन्त्री कार्कीलाई ‘जेनजी’को प्रदर्शनले ल्याएको परिवर्तनलाई स्वीकार्दै विगतमा नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्तामा नेपालमा शान्ति र स्थिरता पुनर्स्थापना गर्ने प्रधानमन्त्री कार्कीको प्रयासमा समर्थन जनाएका थिए ।
“हालै नेपालमा भएको दुःखद मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रहेको पुनः पुष्टि गरेँ,” प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्ण रूपमा कुराकानी भएको उनले जनाएका छन् । संविधान जारी गरेको दिन अर्थात् असोज ३ गते नेपालले संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मोदीले राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएको पनि उल्लेख गरेका छन् । “मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ,” मोदीले भनेका छन् ।
फोन वार्तामा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई वर्तमान नेपाल सरकारको उच्च प्राथमिकतामा निर्वाचन रहेको स्पष्ट सन्देश दिएकी थिइन् ।
