काठमाडौं। मिथिला कलालाई आधुनिक व्याख्यासहित नयाँ स्तरमा स्थापित गर्ने उद्देश्यले कलाकार मनिषा शाहको “Modern Echoes of Mithila Tradition” शीर्षकको एकल कला प्रदर्शनी काठमाडौंमा आयोजना हुने भएको छ। उनीद्वारा सिर्जित मिथिला कलाका परम्परागत रूपांकन र आधुनिक दृष्टिकोणको संयोजन दर्शाउने कृतिहरू प्रदर्शनीमा प्रदर्शन गरिने छन्।

आयोजक काठमाडौं आर्ट हाउसका अनुसार प्रदर्शनी आगामी कार्तिक २९, (शनिबार) साँझ ४ बजे विशेष कार्यक्रमका बीच उद्घाटन भएको छ। प्रदर्शनी कार्तिक २९ देखि मंसिर ३ गते सम्म दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिनेछ। कार्यक्रममा कला क्षेत्रका जाने मान्य व्यक्तित्व, अनुसन्धानकर्ता, सांस्कृतिक अध्ययनमा रुचि राख्ने बुद्धिजीवी तथा कला प्रेमीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
कलाकार मनिषा शाहले मिथिलाञ्चलको सांस्कृतिक पहिचान, लोककथा, समाज तथा जीवनदर्शनलाई समेटेर बनाएका कृतिहरूलाई आधुनिक रंग दर्शन, सौन्दर्यशास्त्र र नयाँ अवधारणासँग मिलाएर प्रस्तुत गरेकी छन्। उनको कृतिले मिथिला कलाको मौलिकता जोगाउँदै यसको आधुनिक सम्भावनालाई उजागर गर्ने भएकोले प्रदर्शनीले नयाँ पुस्तामा मिथिला कलाको आकर्षण थप बढाउने आयोजकको विश्वास छ।
काठमाडौँ आर्ट हाउसका प्रतिनिधिले भुमि पोस्टसँग भने, “यो प्रदर्शनी केवल कला प्रदर्शन मात्र होइन, मिथिला संस्कृतिको पुनर्संवाद हो। आधुनिक दृष्टि र परम्परागत अभिव्यक्तिको मेलले दर्शकलाई नयाँ अनुभूति दिनेछ।”
कला, संस्कृतिसम्बन्धी अध्ययन, अनुसन्धान तथा अभिलेखनमा रुचि राख्नेका लागि यो प्रदर्शनी महत्त्वपूर्ण हुने आयोजकहरूले जनाएका छन्।
प्रदर्शनीसम्बन्धी थप जानकारीका लागि ९८२३५७५०९५ तथा ९८४०४२६९११ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

