राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

राजनीति सबै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् । भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ । त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको सुधारको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको दूतावासले बताएको छ ।

राष्ट्रपतिलाई भेट्नुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ । तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन् । विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

मिस्री भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिश्रीले राष्ट्रपति, प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *