काठमाडौं । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी करिब ११ वर्षकी बालिका रहेकी छन् । अन्य दुई जना महिला भने बेपत्ता छन् । बेपत्ता दुई जनाको खोजी कार्य जारी रहेको छ ।
अटोमा चालकसहित ५ जना सवार थिए । ५ जना मध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल रहेका छन् । आयुषको हात भाँचिएको छ । होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
