काठमाडौँ । मधेश प्रदेशको सर्लाही जिल्ला, हरिपुरबा नगरपालिका – ६ निवासी प्रख्यात मिथिला कलाकार मनिषा साह यादव प्रतिष्ठित ‘अनलाइनखबर ४० अन्डर ४०’ सूचीमा स्थान बनाउन सफल भएकी छन्।
अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा सोमबार सार्वजनिक गरेको उक्त सूचीमा ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको नाम समावेश गरिएको हो, जसमा यादवको नाम मोडर्न मिथिला आर्ट र समाजसेवा क्षेत्रमा पुर्याएको योगदानका आधारमा चयन गरिएको हो।

जनकपुरधामको शान्त र सांस्कृतिक परिवेशमा हुर्किएकी यादव विगत दशकयता मिथिला चित्रकलाको मौलिकता जोगाउँदै, आधुनिक कलात्मक शैली र नवीन प्रयोगको माध्यमबाट यसलाई नयाँ पुस्तासम्म पुर्याउँदै आएकी छन्।
उनका कलाकृतिहरूमा परम्परागत मिथिला चित्रकला, समृद्ध रंग संयोजन, सूक्ष्म रेखांकन, र सामाजिक सन्देशको अद्वितीय मिश्रण पाइन्छ।उनको सिर्जनाले मिथिला कला केवल ऐतिहासिक धरोहर मात्र नभई, आधुनिक कला बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम माध्यम हो भन्ने सन्देश दिएको छ।
यादवले आफ्नो कलात्मक यात्रा नेपालमै सीमित नराखी भारत, अमेरिकामा प्रदर्शनी मार्फत नेपाली कला र संस्कृतिको परिचय गराएकी छन्। अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुँदा उनले मिथिला कलाको मौलिकता र मधेशको सांस्कृतिक पहिचानलाई विश्वव्यापी स्तरमा पुर्याउने लक्ष्य राखेकी छन्।

उनका चित्रहरू निजी सङ्ग्रहकर्तादेखि सांस्कृतिक संस्थासम्मले संकलन गरेका छन्।कला क्षेत्रमा योगदानका साथै यादव समाजसेवामा पनि सक्रिय छिन्। उनले मधेशका ग्रामीण क्षेत्रमा कला तालिम, महिलाहरूका लागि आत्मनिर्भरता कार्यक्रम, र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गरेकी छन्।
विशेषगरी महिलाहरूलाई परम्परागत कला सीपमार्फत आर्थिक सशक्तीकरण गर्न उनले महत्त्वपूर्ण पहल गरेकी छन्।‘अनलाइनखबर चालिस अन्डर चालिस’ मा चयन भएपछि यादवले आफ्नो प्रतिक्रिया दिँदै भनिन्,“यो सम्मान मेरो मात्र नभई सम्पूर्ण मधेशी महिला र युवाहरूको सम्मान हो।
यसले हाम्रो संस्कृति, कला र पहिचानलाई अझ दृढताका साथ अघि बढाउने प्रेरणा दिएको छ।”उनको यो उपलब्धिले कला, संस्कृति र समाजसेवामा लागेका युवा पुस्तालाई पनि थप प्रेरणा दिने विश्वास गरिएको छ।
