इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको पहलमा विपन्नलाई सहयोग

अन्य सबै

काठमाडौं — खोटाङको धार्मिक एवं पर्यटकीय स्थल हलेसी महादेव मन्दिर परिसरमा बसोबास गर्दै आएका घरविहिन र सहयोगापेक्षी व्यक्तिहरूलाई उदयपुरका दुई युवा व्यवसायीहरूले खाद्य सामग्री सहयोग गरेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका निवासी युवा व्यवसायी लोकेश कट्वाल र बासु थापाले इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको समन्वय र पहलमा सो सहयोग गरेका हुन्। सहयोग प्राप्त गर्नेहरूमा वृद्धवृद्धा, अशक्त, असहाय, अपाङ्ग र स्थानीय अति विपन्न परिवारका गरी ४० जना रहेका छन्।

सहयोग स्वरूप ४० बोरा चामल, ४० किलो दाल, ४० प्याकेट नुन, खाना पकाउने तेलसहित अन्य आवश्यक खाद्य सामग्रीहरू वितरण गरिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ। यी सामग्रीहरूले मन्दिर परिसरमा आश्रय लिई भक्तजनसँग सहायता मागेर जीविका चलाउँदै आएका व्यक्तिहरूको तत्कालीन खाद्य आवश्यकता पूरा गर्ने अपेक्षा गरिएको छ।

व्यवसायी कट्वाल र थापाले समाजप्रति आफ्नो जिम्मेवारीको भावना स्वरूप यस्तो सहयोग गरिएको बताए। उनका अनुसार भविष्यमा पनि आवश्यकताअनुसार सहयोगका कार्यक्रमहरू सञ्चालन गर्ने योजना छ।

स्थानीयवासीले हलेसी महादेव मन्दिरमा आउने भक्तजन मात्र नभई, यहाँ बसोबास गर्दै आएका असहायहरूको जीवनस्तर सुधारका लागि यस्ता सहयोग कार्यले ठूलो प्रेरणा मिल्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *