रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकामा भेट्दै शक्तिशाली राष्ट्रका सरकार प्रमुख

अन्तर्राष्ट्रिय

काठमाडौँ । रूस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि सोमबार अमेरिकामा शक्ति राष्ट्रका उच्च नेताहरू सम्मिलित बैठक बस्दैछ ।

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच मात्र वार्ता हुने भनिएकोमा अब त्यो शिखर शीर्षस्थ संवादका रूपमा अघि बढ्ने छ । युद्धरत एउटा पक्ष रूसको सहभागिता भने यो बैठकमा हुने छैन ।

अमेरिकाको राष्ट्रपतिको चुनावी अभियानका क्रममा र आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै रूस–युक्रेनबीचको युद्ध अन्त्य गराउने उदघोष गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले पछिल्ला केही महिनायता संवाद, दबाब र पहलमार्फत रूस–युक्रेनलाई स्थायी युद्धविरामनजिक पु¥याएका छन्।

यसै क्रममा युद्ध अन्त्यका लागि प्रत्यक्ष जोडिएको एउटा पक्ष रूससँग शुक्रबार अमेरिकाले ऐतिहासिक वार्ता गरेको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई १० वर्षपछि अमेरिका निम्त्याएर अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि ऐतिहासिक अग्रसरता देखाएका छन्।

रूसी राष्ट्रपति पुटिनसँगको वार्ताको ठोस निष्कर्ष र भएका सहमतिलाई सार्वजनिक नगरी यसलाई आइसब्रेक र सकारात्मक दिशाका लागि महत्वपूर्ण पहलका रूपमा संकेत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अब सबै कुरा युक्रेनको हातमा रहेको टिप्पणी गरेका थिए ।

सोमबार ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्सेकीबीच अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित ह्वाइट हाउसमा वार्ता हुने तय भइरहँदा सो वार्तामा युरोपका शक्तिशाली देशहरू (जो युक्रेनलाई सहयोग गरिरहेका छन्) उनीहरूको समेत सहभागिता रहने बताइएको छ ।

स्थायी युद्धविराम सम्झौताको आधार मानिएको वार्तामा बेलायतका प्रधानमन्त्री सर केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन, युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर लेयन र नेटोका महासचिव मार्क रुटको समेत सहभागिता हुने भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेट्नका लागि ह्वाइट हाउस आमन्त्रण गरेलगतै जेलेन्स्स्कीले आफ्ना सहयोगी देशहरूसँग सम्पर्क बढाएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली युनियन र त्यसका आबद्व देशहरूका नेताहरूलाई निर्णयमा अस्थिर रहने भनी सार्वजनिक टिप्पणी गरेका थिए ।

अमेरिकाको सहयोगमा युक्रेनले युद्धमा सहभागिता जनाइरहेकाले सो सहयोग रोक्ने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यसअघि युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य लगायतका सहयोग रोकेका थिए, जसले गर्दा युक्रेन वार्ता आउन बाध्य भएको थियो । ट्रम्प र पुटिनबीचको वार्ताको क्रममा रूसले आफ्नो भनी दाबी गर्दै आएको र हाल कब्जामा लिएको युक्रेनको डोनबास लगायतका केही भूभाग निःशर्त छाड्नुपर्ने कुरामा सहमति रहेको बताइएको छ ।

डोनबास क्षेत्रमा लोहान्स्कको अधिकांश भूभाग र डोनेट्स्कको करिब ७० प्रतिशत भूभाग पर्छ । जहाँ महत्वपूर्ण खनिज रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अमेरिका र रूसबीच युद्धविराम सम्झौतालाई लिएर भएको बैठक र त्यो सकारात्मक दिशामा रहेको भनी भनिएको अभिव्यक्तिले युक्रेन र युरोपेली युनियनलाई सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनको सुरक्षा र युक्रेनको भूमिका सन्दर्भमा उनीहरूको चिन्ता रहेको ती सञ्चारमाध्यमहरूले जनाएका छन्तर पनि युद्ध अन्त्यका लागि ती देशहरू पनि इच्छुक र सकारात्मक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *