काठमाडौं । आगामी भदौ ३ देखि काठमाडौंमा हुने नाडा अटोमोवाइल्स् शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार भेट गरेको थियो । सोही टोलीले भदौ ३ देखि ८ गतेसम्म हुने शोको उद्घाटन गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले उक्त प्रस्तावलाई स्वीकार गरेको चौधरीले बताएका छन् ।
नाडाले ओलीलाई शोको प्रमुख अतिथिका रुपमा निम्तो दिएको छ । अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिएका छन् । उनका अनुसार यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो समेत हुनेछ ।
यसबाहेक पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट्स् र दिपल ईभीटीओएल यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने नाडाले जनाएको छ ।
उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।
