युरोपेली अन्तरिक्ष एजेन्सीको सोलर आर्बिटर अन्तरिक्ष यानले खिचेको सूर्यको दक्षिणी ध्रुवको पहिलो भिडिओ तथा तस्बिर पृथ्वीमा प्राप्त भएको छ।
नयाँ तस्बिरले वैज्ञानिकहरूलाई सूर्य कसरी तीव्र आँधी र शान्त समयबीच चक्कर लगाइरहन्छ भन्ने पत्ता लगाउन सहयोग गर्ने छ।
सघन सौर्य गतिविधिले पृथ्वीसँगको स्याटलाइट सञ्चार प्रभावित हुन सक्छ र पृथ्वीमा पावर ग्रिडहरूमा पनि प्रभाव पर्न सक्छ त्यसैले यो महत्त्वपूर्ण छ।
तस्बिरहरूले त्यहाँको असाध्यै चम्किलो वातावरण देखाउँछ, जसको कुनै भागको तापक्रम दश लाख डीग्री सेल्सिअससम्म पुग्छ। बीच बीचमा ग्यासको कालो बादल पनि छ जुन तुलनात्मक रूपमा चिसो भए पनि त्यसको तापक्रम एक लाख डीग्रीसम्म हुन्छ।
उनी भन्छिन्, “आज हामी मानव जातिले सङ्कलन गरेको सूर्यको ध्रुवको अहिले सम्मकै पहिलो दृश्य देखाउँदै छौँ।“
“सूर्य हाम्रो सबभन्दा नजिकको तारा हो। पृथ्वीमा हाम्रो जीवन दायक हो। यसले अन्तरिक्ष तथा भू–ऊर्जा प्रणालीमा सम्भावित व्यवधान उत्पन्न गर्ने वाला हो त्यसैले यसले कसरी काम गर्छ भनेर जान्नु आवश्यक छ र यसको बेहोराबारे अनुमान लगाउन सिक्नु पर्छ।“
पृथ्वीबाट हेर्दा सूर्य यति चम्किलो छ कि यो कुनै चरित्र नभएको ’डिस्क’ जस्तो देखिन्छ।
तर फरक फरक आवृत्तिमा र विशेष फिल्टर प्रयोग गरेर वैज्ञानिकहरूले बाङ्गिने र मोडिने गरेको चुम्बकीय क्षेत्र सहितको एक बहुआयामिक तरल पदार्थको भकुन्डो जस्तो यसको वास्तविक स्वरूप देख्न सक्छन्।
यूसीएलकी प्रोफेशर लुसी ग्रीनका अनुसार कम्प्युटर मोडलमार्फत् यस्ता काम अनुमान गर्न कठिन रहँदै आएको थियो किनभने सूर्यको चुम्बकीय क्षेत्र ध्रुवहरूमा कसरी प्रवाह भइरहन्छ भन्नेबारे तथ्याङ्क थिएन। तर अब त्यो परिवर्तन भएको छ।
उनले बीबीसी न्यूजलाई भनिन्, “अब हामीसँग ’पजल’को हराइरहेको अंश फेला परेको छ।“
सूर्यको ध्रुवीय चुम्बकीय क्षेत्रहरू उल्टिने तथ्य विज्ञानमा एउटा ठूलो प्रश्नको रूपमा रहेको छ। सौर्य अर्बिटरबाट हामी के गर्न सक्छौँ भने – पहिलोपटक असाध्यै महत्त्वपूर्ण तरल पदार्थबारे थाहा पाउन सक्छौँ जसले सूर्यमा निहित चुम्बकीय क्षेत्रका कणहरूलाई समाउँछ र तिनलाई ध्रुवीय क्षेत्रमा धकेल्छ।“
यसको अन्तिम लक्ष्य सूर्यबारेको कम्प्युटर मोडल विकास गर्ने हो जसबाट कथित अन्तरिक्षको मौसमको अनुमान लगाउन सकियोस्। मौसमको सही भविष्यवाणीले स्याटलाइट अपरेटरहरू र बिजुली वितरक कम्पनी, त्यसैगरी अरोरा हेर्न चाहनेहरूलाई, सघन सौर्य आँधी भएका बेलाका लागि उचित योजना बनाउन सघाउँछ।
अन्तरिक्ष यानबाट प्राप्त तथ्याङ्कको उपयोग गरेर सौर्य वायुको अध्ययनमा विशेषज्ञता राख्ने प्रोफेसर क्रिस्टोफर ओवेन भन्छन् “यो सोलर फिजिक्सको विधामा एकदमै जान्न खोजिएको विषय हो।“
“सोलर अर्बिटरले हामीलाई अन्तरिक्षको मौसमको आधारभूत तहमा पुग्न सहयोग गर्ने छ। सूर्यमा हुने विस्फोटनका छिटा पृथ्वीसम्म आइपुग्ने सङ्केतहरू पूरै बुझ्न भने हामीले अझ थप केही काम गर्न बाँकी छ।“
सोलर अर्बिटरले सूर्यको विभिन्न तहमा रहेका रासायनिक तत्त्व तथा तिनको गतिको नयाँ तस्बिरहरू पनि खिचेको छ। ती तस्बिर खिच्न स्पाइस नामको उपकरणको प्रयोग गरिएको छ जसले स्पेक्ट्रल लाइन्स भनिने प्रकाशको खास आवृत्तिहरू नाप्छ। त्यस्ता स्पेक्ट्रल लाइनहरू हाइड्रोजन, कार्बन, अक्सिजन, नियोन र म्याग्नेसियम जस्ता रासायनिक तत्त्वले फ्याँकेका हुन्छन्।
पहिलो पटक स्पाइस टीमले स्पेक्ट्रल लाइनलाई ट्रयाक गरेको छ। तिनैको मद्दतबाट सौर्य पदार्थका गुच्छा कति तीव्रता साथ घुमिरहेका छन् भन्ने नापिन्छन्। यही मापनबाट कस्तो कण सौर्य वायुका रूपमा सूर्यबाट बाहिर फ्याँकिन्छन् भन्ने पनि पत्ता लाग्न सक्छ।
ईएसएका विज्ञान निर्देशक क्यारोल मन्डेलका अनुसार यो अहिलेसम्मकै सूर्यको सबभन्दा नजिकबाट खिचिएको विस्तृत तस्बिर हो। जसको सहायताबाट वैज्ञानिकहरूले हाम्रो पृथ्वीको जीवनदायी तारा अर्थात् सूर्य खासमा कसरी काम गर्छ भन्ने देखाउने छ।
