आइसीसीले पठायो दुई वर्षदेखी रोकिएको खेलाडीको तलब

आइसीसीले पठायो दुई वर्षदेखी रोकिएको खेलाडीको तलब
तस्विर सौजन्य : letzcricket

माघ २६, काठमाडौं । नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् ।

दुई वर्षदेखि रोकिएको तलब राष्ट्रिय खेलकुद परिषद्ले तीन पटक पत्र लेखेपछि आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो । 

खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसमा ए श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । त्यस्तै श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । र ’सी‘ श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुसन भारी, प्रदिप ऐरी र विनोद भण्डारी छन् ।

समूह ए का खेलाडीले मासिक ३५ हजारको दरले दुई वर्षको एक मुष्ट लिँदा प्रति खेलाडी  ८ लाख ४० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी बी का खेलाडीले मासिक २५ हजारका दरले एकमुष्ट ६ लाख पाउनेछन् । सी श्रेणीका खेलाडीले मासिक १५ हजारका दरले एकमुष्ट लिँदै प्र्रति खेलाडी तीन लाख रुपैयाँ पाउनेछन् ।त्यस्तै,  टिम म्यानेजर रमन शिवाकोटी र प्रशिक्षक जगत टमाटाले पनि २ वर्षको पारिश्रमिक पाउनेछन् । 

नेपाली टीमले एक दिवसीय क्रिकेटको मान्यता पाइसकेकाले अब सेवा सुविधा पनि बढ्नुपर्ने परिषदको माग रहेको राष्ट्रिय खेलकुद परिषद्का प्रेस संयाेजक राेहित दाहालले जानकारी दिएका छन् ।