अभिनेत्री दीयाले अप्रिलमा सगरमाथा आरोहण गर्ने

अभिनेत्री दीयाले अप्रिलमा सगरमाथा आरोहण गर्ने

२८ पुस, काठमाडौं । 
अभिनेत्री दीया पुनले आगामी अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । 

यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी दीयाले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको हुन् ।

अभिनेत्री दीयाले ‘ह्याप्पी डेज’, ’मिस्टर झोले’,’दया रानी’ र ‘मन्त्र’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । उनले सौगात मल्लसँग स्क्रिन शेयर गरेको चलचित्र ‘मन्त्र’ सामान्य अवस्था रहेमा यही माघ २८ गते प्रदर्शनमा आउने छ । 

हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन् । 

सन् २०२२ मा सगरमाथा चढ्ने उनको पुरानै योजना हो तर कोभिड महामारीका बेला बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा उनले बिरामीको मात्र होइन धेरै सहकर्मीको मानसिक स्वास्थ्य स्थितिलाई नजिकबाट नियाल्न पाइन् । त्यसैले सगरमाथा आरोहण यात्रालाई उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् ।

उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।