निकुञ्जमा च्याउ टिप्न गएका एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

निकुञ्जमा च्याउ टिप्न गएका एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवन, ३१ वैशाख। 
चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताए ।  चालु आर्थिक वर्ष २०७७र७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिए ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको अधिकारीको भनाइ छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताए । 

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक÷एक जना रहेका छन् । 

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दीका क्रममा अनावश्यकरूपमा जङ्गल क्षेत्रमा प्रवेश गर्नसमेत निकुञ्जले अपिल गरेको छ ।