सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि थाल ठटाउँदै सडकमा निस्किए चिया मजदुर

सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि थाल ठटाउँदै सडकमा निस्किए चिया मजदुर

बैशाख ५, इलाम । 
झापा र इलामका चिया मजदुर सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका चिया मजदुरले बुधबार थाल बोकेर सडकमा जुलुस निकालेका छन् । 

गत साउनदेखि लागु हुनेगरी सरकारले चिया बगान तथा कारखानामा कार्यरत् श्रमिकको न्यूनतम ज्याला ३ सय ८५ रुपैयाँ तोकिदिएको थियो । तर, चिया मजदुरले न्यूनतम ज्याला अझै पाएका छैनन् । 

सरकारले नयाँ ज्याला तोकेको १० महिना पूरा भइसक्दा पनि पुरानै ज्याला पाइरहेको मजदुरहरुको गुनासो छ । हाल चिया मजदुरले दैनिक २ सय ७८ रुपैयाँ ज्याला पाइरहेका छन् । ‘साउनयता सरकारले तोकेको भन्दा १ सय ७ रुपैयाँ कम पैसा पाइरहेका छन्,’ अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले भनिन्, ‘ज्याला पाउनका लागि जस्तोसुकै कदम उठाउन तयार छौँ ।’

ऐनअनुसारको ज्याला नपाएको भन्दै गतवर्ष पनि चिया मजदुर विरोधमा उत्रिएका थिए। राजनीतिक दलको आश्वासनका कारण दसैँअघि फिर्ता भएको आन्दोलन फेरि दोहोरिएको हो । सरकारले तोकेको ज्याला चिया उद्योगीले दिन नमानेपछि १७ चैतदेखि सम्पूर्ण चिया प्रतिष्ठान बन्द गरी मजदुर आन्दोलित छन् ।

झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा चिया उत्पादन हुँदै आएको छ । नेपालमा चिया बगान स्थापना भएको १ सय ५५ वर्ष भइसकेको छ । त्यसयता चिया श्रमिकहरुले चरम शोषण भोग्दै आएको मजदुर नेताहरु बताउँछन् । मजदुर संगठनहरुका अनुसार मुलुकमा हाल ५३ हजार चिया श्रमिक छन् ।