अनाधिकृत झुण्डलाई सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ : प्रम ओली

अनाधिकृत झुण्डलाई सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ : प्रम ओली
तस्विर सौजन्य : the kathmandu post

चैत ३, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले विध्वंस, लुटपाट, आतंकित पार्ने  अनाधिकृत झुण्डलाई सरकारले निषेध मात्रै नभई नियन्त्रण गर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताउदै भने ‘यो काही पनि दर्ता भएर आधिकारिक भएको छैन । त्यही पनि आफूलाई आफैले दलको संज्ञा दिन्छ, दल भएको भए जनताको सेवामा काम गर्नुपर्ने अवस्थामा विध्वंस मच्चाएर जनविरोधी काम गरिरहेको छ, त्यही विध्वंसात्मक गतिविधीमा सरकारले प्रतिबन्ध लगाएको हो ।’ 

नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो, जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन प्रधानमन्त्री ओलीले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भनेर सरकारले प्रतिबन्ध लगाउँदा के को रुवाबासी ? ’ 

उनले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि बाहनामा शान्ति सुरक्षा खलबबलाउन खोज्ने तत्वलाई सरकारले नछाडने बताए ।