चन्द्रगढी विमानस्थलमै हवाई इन्धनको डिपो स्थापना हुने

चन्द्रगढी विमानस्थलमै हवाई इन्धनको डिपो स्थापना हुने

झापा, ५ चैत । 
हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ । 

डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।

नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए । सो जग्गामा ५ करोडको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने भएको हो ।

पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेण्डर आह्वानका लागि पहल गर्ने भएको उनले जानकारी दिए । विमानस्थलमा डिपो निर्माणसँगै ६ देखि ७ दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ । 

प्रमुख न्यौपानेका अनुसार यसअघि चन्द्रगढी विमानस्थलका लागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरीद गरी सिधै विराटनगर पुर्याइने र गुणस्तर जाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो । “स्थायी संरचना नहुँदा विराटनगरबाट ट्याङ्करमा इन्धन ल्याउने र ट्याङ्करबाटै सप्लाई गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अब त्यो समस्याबाट मुक्त हुन्छ । सिलगुढीबाट खरीद गरिएको इन्धन सिधै चन्द्रगढीको विमनस्थलको डिपोमा फिल्टरसहित भण्डारण गर्न सकिन्छ ।”

निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको बताए। दैनिक चन्द्रगढी विमनस्थलबाट ९ वटा विमानले उडान भरिरहेको छ । जसमा ५ वटा बुद्ध एयर, २ वटा यति एयर, एउटा श्री र एउटा सौर्य विमानले भद्रपुरबाट काठमाडौँ उडान भरिरहेको छ ।