गैंडाकोटको बयानपछि पललाई पुनः दमौली ल्याईयो

गैंडाकोटको बयानपछि पललाई पुनः दमौली ल्याईयो

३ चैत, काठमाडौं । 
नाबालिग गायिकालाई जवरजस्ती करणीको आरोप लागेर प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहसँग गैंडाकोट प्रहरीले बयान सकेपछि बुधबार पुनः तनहुँ ल्याईएको छ । 

तनहुँमा प्रहरी हिरासतमै रहेकाबखत कलाकार शाहविरुद्ध नवलपुर जिल्लाको गैंडाकोटमा समेत उजुरी परेपछि बयानका लागि गैंडाकोट लगिएको थियो ।

चैत ४ गतेसम्मको म्याद तनहुँ प्रहरीले लिए पनि नवलपरासीमा समेत बलात्कारकै अभियोगमा नाबालिगबाट उजुरी परेपछि बयानका लागि गैंडाकोट लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

गत फागुन ११ गते एक गायिकामाथि जबर्जस्ती करणीको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले अदालतबाट पक्राउ पूर्जी जारी गरेपछि कलाकार शाह आफै फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्कमा आएका थिए । उजुरी दिएकी किशोरीको उमेर नाबालिग भएको प्रमाण, जन्मदर्ता र पासपोर्ट फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।

जाहेरीअनुसार अन्तिम करणी हुँदा जन्मदर्ताको प्रमाणअनुसार उनको उमेर १५ वर्ष ८ महिना ९ दिन रहेको उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ मा १८ वर्ष मुनीको किशोरीसँग सहमतीमा नै सम्पर्क गरिएको भएपनि जबरजस्ती करणी मानिने व्यवस्था छ । 

पीडितको उमेर १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम भएमा १२ देखि १४ वर्ष कैद र १६ देखि माथि र १८ भन्दा कम भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाए हुने कानुनी प्रावधान रहेको छ ।