पुर्पक्षका लागि पल थुनामा, म्यानेजर जोशी भने एक लाख धरौटीमा रिहा

पुर्पक्षका लागि पल थुनामा,  म्यानेजर जोशी भने एक लाख धरौटीमा रिहा

११ चैत, तनहुँ ।
जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको अभियोग लागेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थुनामा पठाउने आदेश दिएको छ । 

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

शाह २१ दिनसम्म अनुसन्धानका लागि न्यायिक हिरासतका लागि प्रहरी कार्यालयमा थिए। प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । 

शाह मुद्दाको अन्तिम फैसला नआएसम्म कारागारमा बस्नुपर्ने आदेश आएपछि प्रहरीले अदालतको प्रशासनबाट आवश्यक कागजपत्रसँगै बेलुका ७:१५ मा शाहलाई बुझिलिए। 

अहिले जेल प्रशासनले शाहलाई कारागारको कैदीरबन्दी र थुनुवा रहने पुरुष भवनमा राखेको छ । अब पुनरावेदनबाट आदेश नउल्टिए मुद्दाको अन्तिम फैसलासम्म उनी त्यही कारागारमा रहने छन्।

यता उनका म्यानेजर कृष्ण जोशी भन एक लाख धरौटीमा छुट्ने भएका छन्।

मतियारका रुपमा मुद्दा दायर गरिएका जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको हो ।