छाउगोठ भत्काउने अभियन फेरि शुरु

छाउगोठ भत्काउने अभियन फेरि शुरु

६ पुस, डोटी । 
समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो । 

गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते डोटीका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो तर गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर शुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द भएको थियो ।  यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः नौवटा छाउगोठ भत्काइएको छ ।

छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उहाँले भने, “कोरोना कहरका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिएको थियो, अहिले हामीले पुनः भत्काउन शुरु गरेका छौँ, एकै दिनमा हामीले नौवटा छाउगोठ भत्काएका छौँ ।” छाउपडी प्रथा मानेकै कारण दर्जनौँ महिलाले अकालैमै ज्यान गुमाएको तथा कयौँ किशोरी बलात्कृत भएको जान्दा जान्दै पनि छाउगोठ राखेको पाइएकाले पुनः भत्काउने अभियान शुरु गरिएको उनले बताए । 

यसैगरी डोटीमा पनि छाउगोठ भत्काउने अभियान चाँडै शुरु हुने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले जिल्लामा भएका धेरै छाउगोठ भत्काइसकिएका छन्, कहीँकतै अझै राखिएका भए त्यसको जानकारी लिने काम भइरहेको र भेटिएको खण्डमा भत्काउने तयारीमा छौँ ।” 

मुलुकी अपराध संहिता, २०७४ को दफा १६८.३० मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र  तीन हजारसम्म जरिवाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ ।