बर्दियामा बाघ आतङ्क: नागरिक साँझ नपर्दे घरभित्र बस्न बाध्य

बर्दियामा बाघ आतङ्क: नागरिक साँझ नपर्दे घरभित्र बस्न बाध्य

टीकापुर, २९ फागुन । 
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँकाका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन् ।

बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयको भनाइ छ । दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ । 

“बाघ गहुँ खेतीमा लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ”, गेरुवा–४ तीनघरुवाकी नम्रता खनालले भनिन, “साँझ ६÷७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, साँझ आफन्तकहाँ गएर ढोका खोलाउन गाह्रो हुन्छ ।”

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए । स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन् । बाघको आतङ्क बढेपछि स्थानीय महिलाको समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । 

कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि एक महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडातले बताए । गाउँपालिकाले १८ देखि २० किलोमिटर तारबार गर्न लागेको अध्यक्ष कडायतले जानकारी दिए। “गाउँपालिकाले यसअघि गरेको दुई किलोमिटर तारबार प्रभावकारी भएकाले निकुञ्ज र गाउँपालिका मिलेर थप तारबार लगाउने योजना बनाएका छौँ”, अध्यक्ष कडायतले भने, “वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष गाउँपालिकाले  डेढ करोड बजेट खर्च गर्न लागेको छ ।”

निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ । वन्यजन्तुले घरपालुवा जनावर मारे गाउँपालिकाले राहत रकम दिने गरेको छ भने निकुञ्जले पनि केही रकम दिँदै आएको छ । गाउँपालिकाले भैँसीका लागि १० हजार, गाई गोरु र बाख्राका लागि ५ हजार राहत दिने गरेको छ । 

बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको तथ्याङ्क प्रहरीसँग छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पछिल्लो पटक मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बुधबार बाघले आक्रमण गरी ज्यान लिएपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको बताए।