किन विश्वभर भाइरल बन्यो महिलालाई गाईका रूपमा देखाइएको विज्ञापन? (भिडियोसहित)

किन विश्वभर भाइरल बन्यो महिलालाई गाईका रूपमा देखाइएको विज्ञापन? (भिडियोसहित)

२ पुस, काठमाडौं । 
एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको सबैभन्दा ठूलो डेरी ब्रान्ड माफी माग्न बाध्य भएको छ।

सउल मिल्कद्वारा बनाइएको उक्त भिडिओमा एक जना पुरुषले चउरमा रहेका महिलाहरूको समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ। पछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन्।

उक्त विज्ञानपन सार्वजनिक भएपछि कम्पनीले सार्वजनिक आलोचना खेप्नुपर्‍यो।

त्यसपछि कम्पनीले युट्युबबाट भिडिओको प्रोमो हटाएको थियो। तर इन्टरनेट प्रयोगकर्ताहरूले पुन भिडिओ अपलोड गरेपछि त्यो भाइरल बनेको थियो।

केही मानिसहरूले विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई 'मोल्का' प्रवृत्तिसँग तुलना गरेका छन्। मोल्का भनेको गैरकानुनी रूपमा अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नु हो।

'गत महिना २९ तारिखमा सार्वजनिक भएको दूधको विज्ञापनबाट असहज महसुस गर्ने सबैसँग हामी माफी माग्छौँ,' सउल मिल्कको माउ कम्पनी सउल डेरी कोअपरेटिभ्सले अनलाइनमा माफी माग्दै एउटा पोस्ट गरेको छ।

'हामीले उक्त कुरालाई गम्भीर रूपमा लिइरहेका छौँ र हामी आन्तरिक समीक्षा पनि गर्नेछौँ तथा आगामी दिनमा त्यस्तैखाले घटना नहोस् भनेर थप सजगता अपनाउनेछौँ। हामी क्षमा माग्दै हाम्रो शिर झुकाउँछौँ।' डेरी कोअपरेटिभ्सले पोस्ट गरेको छ।