३६ हजार फिटमा उडिरहेको जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान

३६ हजार फिटमा उडिरहेको जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान

काठमाडौं, १३ चैत । 
गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् । 

प्रधानले फेब्रुअरी १, २०२१ मा काठमाडौँ देखि नयाँ दिल्लीका लागि उडेको  नेपाल वायु सेवा निगमको जहाजभित्र ३६ हजार फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका हुन्। 

उक्त साङ्गीतिक एल्बममा फोटो पत्रकार प्रदीपराज वन्त र किर्जना डङ्गोलको मोडलिङ तथा आरध्यालक्ष्मी खड्गीले कोरियोग्राफी गरेका छन् ।  

उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वल्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका हुन् । 

कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताउदै प्रधानको प्रशंसा गरे । “संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उपराष्ट्रपति पुनले भने।