संगीत चोरीको आरोप: महेशको चुनौतीपछि पछि हटे वसन्त, मागे माफी

संगीत चोरीको आरोप: महेशको चुनौतीपछि पछि हटे वसन्त, मागे माफी

२ फागुन, काठमाडौं । 
अघिल्लो साता चर्चामा रहेको संगीत चोरीको आरोपमा संगीतकार वसन्त सापकोटा पछि हटेका छन् ।

संगीतकार वसन्त सापकोटाले अर्का संगीतकार महेश खड्कासँग माफी माग्दै पछि हटेका हुन्। 

संगीतकार महेश खड्काले केही दिन अघि पत्रकार सम्मेलन गर्दै संगीत चोरेको भनेर लगाएको आरोप निराधार रहेको बताएका थिए । खड्काले कानुनी रुपमा आरोप प्रमाणित गरेर देखाए आफू सजाय भोग्न तयार रहेको बताएका थिए । उनले आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्न सक्ने समेत चेतावनी दिएका थिए ।

सापकोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत खड्कासँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी माफी माग्दै यो विषयबाट पछि हटेका हुन् ।

संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को ‘सागरसरी चोखो माया’ भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएका थिए।

संगीतकार सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैलाइ नमस्कार जानि नजानि मनिसबाट गल्ती हुन्छ १ कुराहरु जति धेरै वढाउँदै लग्यो त्यतिनै बिग्रदै जाने हुनाले मबाट केही गल्ति भएको छ भने सबैजना सङ्ग माफी माग्दछु ११ सुषुप्त मनभित्र कहिले काहीँ राम्रो धुनहरु बस्न जान्छन कहिले काहिँ एकै खालका शब्दहरु आउदा धुनपनि मिल्न जान्छ यहि कुरालाइ हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्का सङ्ग आगामी दिनमा केहि असमजदारि देखा परे मिलेर समाधान गर्नेगरि मेरो तर्फबाट पर्न गएको असुबिधा प्रती माफी चाहन्छु !!!।’